श्री ३ बन्ने ओलीको सपना चुट्कीको भरमा ध्वस्त हुने – प्रचण्ड

खबरपथ संवाददाता
१५ माघ २०७७, बिहीबार १९:५१

बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको ‘श्री ३’  बन्ने सपना चुट्कीको भरमा ध्वस्त हुने बताए । प्रचण्डले केपी ओलीको निरंकुशता धेरै नटिक्ने दावी गरेका छन् ।

प्रतिनिधि सभाको विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षीय नेकपाले आज बुटवलमा आयोजना गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘ आज केपी ओलीले सबै जनताको सपनामाथि कुठारागात र लोकतन्त्रको हत्या गर्ने काम गरेको बताए ।  प्रचण्डले नेपाली राजनीतिको इतिहासमा पुनः एक पटक तानाशाहाको जन्म हुन लागेको बताए ।
प्रचण्डले पार्टी एकतापछि आफूले शान्ति र समृद्धिको लागि काम गर्न चाहेको भए पनि प्रधानमन्त्री ओलीले विगतका सहमति पालना गर्न नसक्दा शान्ति र संवृद्धिको चाहना पुरा हुन नसकेको टिप्पणी गरे । राजनीतिक स्थायित्वको लागि आफूले पाँच वर्ष नै प्रधानमन्त्री हुन ओलीलाई सघाएको र आफूले पार्टी चलाउन चाहेको भए पनि ओलीले सहमति पालना नगरेकाले तीन वर्ष मै पार्टीमा संकट उत्पन्न भएको बताए । प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास रहेको तर जनताको अदालत सर्वोच्च रहेको प्रचण्डको तर्क थियो ।

बुटवलको विशाल भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीबाट संविधान र लोकतन्त्रको हत्या भएको भन्दै त्यसको रक्षाका निम्ती अपील गर्न आफू आएको बताए । पार्टी एकताको मर्म विपरित केपी ओलीले तीन बर्ष नवित्दै एकताको सहमती तोड्ने काम गरेर ‘आज आफ्नै पार्टी भित्र आफैंले बनाएको प्रधानमन्त्री र अध्यक्ष निरंकुशताको एजेन्ट जस्तो देखा परेको’ प्रचण्डको आरोप थियो ।

बिरोध सभामा बोल्दै पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओलीले प्रतिगनको यात्रामा अंगाडी बढेको र सुधार गर्न नसकिएका कारण पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गर्ने तयारी भएको बताए । नेपालले ओलीसंग संसद विघटनको विषयमा स्पष्टिकरण सोधेर साधारण सदस्यबाट निस्कासन गरिने बताए । उनले निर्वाचन आयोगले पहिले बुझाएको केन्द्रीय सदस्यको लिष्ट हेरेर निर्णय गर्ने भएकाले आधिकारिक नेकपा आफूहरुको हुने समेत दावी गर्दै ओलीतिर लागेकाहरुलाई आधिकारिक नेकपामा गोलवन्द हुने समेत आग्रह गरे ।

बिरोध कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य वर्षमान पुन, घनश्याम भूसाल, चक्रपाणी खनाल बलदेव, नेताहरु युवराज ज्ञवाली, ओनसरी घर्ती, बामदेव क्षेत्री, जगप्रसाद शर्मा लगायतका नेताहरुले बोल्दै प्रतिनिधिसभा विघटन गरेको प्रति ओलीको चर्को बिरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*