
तिलोत्तमामा सुनिल ढुंगाना स्मृतिमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने

तिलोत्तमा । तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुंगानाको स्मृतिमा तिलोत्तमा नगरपालिकामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा आगामी फागुन ८ गतेदेखि प्रथम सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति खुल्ला टि – १० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको हो । सुनिल ढुंगानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेका प्रतियोगिता रुपन्देहीको तिलोत्तमामा ६ मा अवस्थित नव जीवन खेल मैदानमा हुने आयोजकले आज मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारि गराएका हुन ।
सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशी सहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्मको म्याद राखिएको र दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएका छन ।
स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएका छन । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि लाख रुपैयाँको अक्षकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक सर्वोत्तम सिमेन्टका रिजनल मार्केटिङ म्यानेजर रमेश ढकालले निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यसै गरि जिल्ला खेलकुद विकास समितिका संगम थापा, नगर खेलकुद विकास समितिका राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर राना लगायतले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगिता आयोजनाका लागि साढे ८ लाख खर्च अनुमान गरिएको छ ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता र संस्थाका प्रेस सल्लाहकार बाबुराम गैरेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मिलन भण्डारीले गरेका थिए ।