म्यानमारको सत्ता सेनाको हातमा, संकटकाल घोषणा
काठमाडौं । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।
राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।
सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।