
आज कांग्रेसको ७७ वटै जिल्लामा विरोध र्याली

काठमाडौँ । नेपाली कांग्रेसले संसद विघटनविरूद्धको तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज देशैभरी प्रदर्शन गर्देछ । शनिवार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा विरोध र्याली र सभा गर्दैछन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेस आन्दोलित भएको हो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिज्ञप्तीमार्फत जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ ।
‘अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं, संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’
सरकारले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गरेर सर्वसत्तावाद उन्मुख प्रवृत्ति देखाएकाले त्यसकाविरूद्ध संघर्ष जारी रहने पनि उहाँले बताउनुभएको छ ।