
बुटवलको जनसभामा २ लाख जनताको सहभागीता हुने मुख्यमन्त्री पाेखरेलको दाबी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले आगामी फागुुन १ गते बुटवलमा हुने जनसभा ऐतिहासिक हुने बताउनुभएको छ ।
नेकपाको पार्टी प्रचार विभागले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा लुम्बिनी प्रदेशका इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले जनसभाका बारेमा जानकारी दिदैं जनसभामा २ लाख जनताको सहभागीता हुने दाबी गर्नु भएको छ । जसअनुसार रूपन्देही जिल्लावाट १ लाख र अन्य जिल्लावाट १ लाख गरि २ लाख जनता सभामा उपस्थिती रहने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
फागुन १ गते सभा सुरु हुुनुपूर्व अस्पताललाइनको खाली जग्गामा जम्मा भएर राजमार्ग चौराहा हुुँदै बुटवल ७ को सिद्देश्वरी माविको खेल मैदानमा सभामा परिणत हुने छ । सभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । सभामा पूर्व जनमुक्ति सेना पनि सभामा सहभागी हुने पोखरेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पोख्रेलले बुटवलको सभाले राष्ट्रलाई दिशा निर्देश गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई कमजोर पार्ने षडयन्त्र भएकाले जनतामा जानु परेको बताउँदै प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘जनमतमा जाने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो’ ‘हामी जनतालाई न्यायाधीश बनाउन चाहन्छौं । उहाँले नयाँ निर्वाचनबाटै देशमा आइपरेको संकट हल हुने जिकिर गर्नुभयो ।