सर्वोच्च अदालतको फैसला स्वागतयोग्य – नेपाली कांग्रेस

खबरपथ संवाददाता
११ फाल्गुन २०७७, मंगलवार २०:५२

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।

‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको देउवाले उल्लेख गर्नुभएको छ ।  सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताउनुभएको छ ।

उहाँले यो ऐतिहासिक कदमका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु