
सरकार र विप्लव समूह बिच तीनबुँदे सहमति

काठमाडौं । सरकार र नेकपा विप्लव समूह बिच तीनबुँदे सहमति भएको छ । बिहीबार सरकार र विप्लव समूहबीच भएको वार्तामा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
सरकारले पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति जनाएको भट्टराईले जानकारी दिए ।
सहमति अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध हटाएको छ भने गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
तीनबुँदे सहमतिलाई आज (शुक्रबार) दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सार्वजनिक गरिने छ । कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने छन् ।
हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।