सनातन धर्ममा नारीको स्थान

चक्रपाणी डुम्रे (शास्त्री)
२४ फाल्गुन २०७७, सोमबार ०७:३५

बुटवल । हाम्रो सनातन धर्म , इतिहास, पुराण आदिमा नारीहरूलाई उच्च सम्मान र आधार गरेको स्पष्ट रूपमा पाइन्छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।

अर्थात मनुस्मृति जहाँ नारीहरू पुजिन्छन्, जहाँ उनीहरूको सम्मान–सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन्। चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन्। यसको विपरीत जहाँ नारीको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन्। आमामात्र होइन दिदीबहिनी, छोरीबुहारी आदि महिलाका अन्य रूपलाई कुनै पनि कष्ट , बाधा , व्यवधान पुर्‍याउन नहुने भाव बुझिन्छ । जस अनुसार नारीको अपमान हुने ठाउँमा श्री, सम्पत्ति समेत दुर्लभ हुन्छ त्येस्तो ठाउँमा कहिल्यै सुख र ऐश्वर्य हुदैन ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी

अर्थात आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् भनेर रामायणमा उल्लेख गरिएको छ । आमा बाबुभन्दा पनि हजार गुणा गौरवकी वा पुजनीय हुन्छिन् भनेका छन्, मनुले। आफूलाई जस्तोसुकै पीडा भए पनि जन्म दिने आमालाई दुखी बनाउनुहुँदैन भन्ने वचन छ स्मृतिमा । शास्त्रमा आमामात्र होइन दिदीबहिनी, छोरीबुहारी आदि महिलाका अन्य रूपलाई कुनै पनि बहानामा कष्ट पुर्याउन नहुने मान्यता छ ।

पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थावरै पुत्त्रा न स्त्रीस्वातन्त्र्यमर्हति ।। मनुस्मृति

बाल्यकालमा पिता, यौवनमा पति र वृद्धावस्थामा सन्तानले महिलाको रक्षा गर्नुपर्ने यस श्लोकको गलत व्याख्या हुँँदै आएता पनि खासमा शारीरिक वा सामाजिक कतिपय दृष्टिले महिलाको संवेदनशीलतामाथि ध्यान दिँदै उनीहरूको रक्षा गर्नुपर्ने आशय एवं निर्देश हो। यद्यपि कमजोर वा अबला देखाउन खोजिएको नभई महिला कुनै पनि अवस्थामा अरक्षित हुन योग्य होइन भन्ने भाव हो। त्यसो त पुरुषसम्बन्धी प्रसङ्गमा पनि रक्षा गर्ने व्यक्तिहरूको उल्लेख भएको भेटिन्छ ।

स्वतन्त्रताका सन्दर्भमा पनि शास्त्रमा महिलाले आफूलाई आफैंलाई रक्षा गर्न सक्ने कुरा समेत उल्लेख गरिएको छ । जो महिला धर्म (कर्तव्य), विचार वा संयमबाट आफूलाई रक्षा गर्न सक्छिन्, उनी नै रक्षित हुन सक्छिन्।

सम्पत्ति आदिको स्वामित्वका विषयमा महिलाले पनि (अंश) पितृधन पाउने प्रसङ्गहरू छन्। आमाबाबुले दिएको धन, दाजुभाइले दिएको धन, विवाहका बेला मण्डपमा आफन्त वा सहृदयीले प्रदान गरेको उपहार, कर्मघरमा पनि पति र सासु–ससुराले खुशी भई दिएको धन (स्त्रीधन) मा पतिको हक नलाग्ने उल्लेख छ। पतिको सम्पत्तिमाथि पत्नीको हक लाग्नेमा अन्यथा रहेन। आमाको धन बरु छोराछोरीको हुनसक्ने तर पतिको हुन नसक्ने जस्ता सन्दर्भ पनि स्मृतिमा उल्लेख छन्।
हिजोआज वर्षेनि नारी दिवस मनाउदै गर्दा विभिन्न अधिकारका शब्द गुन्जने गर्दछन्। सनातन धर्ममा कुनै पनि हिसाबमा महिलालाई दोस्रो दर्जामा राखेको पाइदैन । बरू महिला अधिकार, समावेशिता र उनीहरूको सम्मानका थुप्रै सन्दर्भ आउँछन्।

सहस्रं तु पितृृन् माता गौरवेणाऽतिरिच्यते ।

अर्थात् जन्म दिने आमा बाबुभन्दा पनि हजार गुणा गौरवकी वा पुजनीय हुन्छिन् । आफूलाई जस्तोसुकै पीडा भए पनि जन्म दिने आमालाई दुखी बनाउनुहुँदैन भन्ने वचन पनि छ। आमाले सहेको कष्टको बदला त वर्षौं तिरेर पनि सम्भव हुँदैन।

माता पृथिव्या मूर्तिः

भन्ने वचनले पनि आमा पृथ्वीकै स्वरूप हुन् भन्ने सन्देश प्रवाह गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*