शोकप्रस्ताव पारित गरेर संसद बैठक चैत ३ गतेसम्म स्थगित
काठमाडौँ । पूर्व तथा बहालवाला १४ सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो ।
बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन शुरू नहुँदासम्म मृत्यु भएका सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो ।
दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।