प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र भईरहेको छ – प्रचण्ड
बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा संविधान लाई रक्षा गर्ने की संविधानको हत्या गर्ने भन्ने एउटा ठूलो बहस शुरु भएको बताउनुभएको छ । प्रचण्डले दलित , मुस्लिम, महिला, आदिबासी र पिछडिएका जनताले संविधान मार्फत प्राप्त गरेका संविधानलाई अझ संविधान संसोधन मार्फत विकसित गर्दे लैजाने की यसको हत्या गर्ने र पछाडी फर्कने भन्ने बहस चलेको बताउनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्धघाटन गर्दे प्रचण्डले लामो संर्घर्ष र हजारौंको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र भईरहेको बताउनुभयो । प्रचण्डले लामो संघर्ष र हजारौ हजारकोे बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको निम्ती फेरी एक पटक शान्तिपूर्ण आन्दोलनको आँधीबेहेरी ल्याएर भए पनि रक्षा गर्ने बताउनुभयो । यद्यपि फेरि विद्रोह गर्ने वा हिंसामा जाने नभई शान्तिपूर्ण संघर्ष गर्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले सडकबाट शान्तिपूर्ण आन्दोलनको अहिले आवश्यकता रहेको र शान्तिपूर्ण क्रान्ति आफुले सम्पन्न गर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई ब्युताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताउनुभयो ।
देशलाई प्रतिगमन, र अराजकतातिर लैजान खोज्नेलाई परास्त गरिने प्रचण्डको दावी छ । दलित समुदायको साथ र समर्थनले जनयुद्ध सफल भएको हुंदा दलित प्रति ऋणी रहेको बताउंदै प्रचण्डले पार्टी पदाधिकारीमा दलितको उपस्थितिमा गुणात्मक रुपमा बृद्धि गरिने प्रचण्डले बताउनुभयो ।
प्रचण्डले जनमत निर्माणमा पत्रकारको भूमिका निर्णयक हुने बताउनुभएको छ ।
यस्तै नेपाली कांग्रेस संसदिय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूर्ण बाटोमा ल्याउनको लागि गिरिजाप्रसाद कोईराला र पुष्पकमल दाहाल प्रचण्डको मुख्य भूमिका रहेको बताउनुभएको छ । जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरु माथि चलखेल गरेर प्रहार सुरु हुन थालेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको उँहाले बताउँदै संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताउँनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोेविन्द खनालले दलित समुदाय राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विभेदमा परेकाले उनीहरुलाई न्याय र अधिकार दिन राज्यले कन्जुस्याई गर्न नहुने आग्रह गर्नुभयो ।
संघका अध्यक्ष विनोद पहाडीले राज्यका हरेक निकायमा समावेशिताको मुद्दा संकटमा परेको, सञ्चार सम्बन्धी सरकारी निकायमा दलित पत्रकारको उपस्थिति नाजुक रहेको उल्लेख गर्दै नीतिगत तहमा उपस्थिति बढाउन दलित पत्रकार संगठित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पहाडीले संघले दलित पत्रकारको क्षमता बृद्धि र उपचारमा सहयोगका लागि एक करोड बढीको अक्षयकोष स्थापना गर्ने तयारी भइरहेको दिनुभयो ।
सो अवसरमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कलेन्द्र सेजुवाल र बृजलाल पासवानलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार रहेको छ । यस्तै देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार रुपन्देहीकी मिना ढकाललाई प्रदान गरिएको छ । परशु सवरी पत्रकारिता पुरस्कार रोल्पाका मानसिंह विश्वकर्मालाई प्रदान गरिएको छ ।
सम्मेलन चैत्र १ गतेसम्म चल्ने छ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिती रहेको छ ।