एमालेमा महासचिवबाहेक सबै पद खारेज, महाधिवेशन मंसिर २ देखि ६ सम्म
काठमाडौँ । नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ।
अध्यक्ष समेत रहेका ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् । यसैगरी बैठकले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
प्रदेश १ मा सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेको छ । त्यसैगरी विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी कर्णाली प्रदेश इन्चार्जमा यमलाल कँडेललाई तोकिएको छ।
सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिदा नेपाल समूह एमाले मै फर्किए पनि ओलीले उनीहरुसँग छलफल गरेका छैनन् ।