एमाले माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाण्डौं । नेकपा एमाले माधव -झलनाथ पक्षको केन्द्रीय कमिटीको बैठक शनिवार बस्दैछ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोके पछि माधव झलनाथ समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
माधव- झलनाथ समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।
शुक्रबार साँझको बैठक पछि नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिए।
उनले विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने बताए । उक्त बैठकले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।