कम्युनिष्टपार्टीको विरूद्ध लड्नुपर्ने बेला आयो – सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभएको छ ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवालेले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताउनुभएको हो ।
सभापति देउवाले प्रजातन्त्रलाई स्थायी बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै अब कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताउनुभयो ।
कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो , ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’
कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताउनुभयो । नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै देउवाले परिस्थिति आइपर्यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पार्नुभयो।
सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयो । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उहाँको भनाई छ ।