माधव-झलनाथ समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला
काठमाडौं । नेकपा एमालेको माधव झलनाथ समूहले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
एमालेको माधव झलनाथ निकट केन्द्रीय सदस्यहरुको शनिवार बसेको अनौपचारिक बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।
यस्तै नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्जहरु समेत तोकेको छ । बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई , प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाललाई , बाग्मती प्रदेश इन्चार्ज तथा महिला विभागको जिम्मेबारी अष्टलक्ष्मी शाक्य , गण्डकी प्रदेशको इन्चार्ज सुरेन्द्र पाण्डेलाई त्यसैगरी लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । यस्तै बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र योगेश भट्टराईलाई प्रचारप्रसार विभागको जिम्मेवारी दिएको छ ।