प्रथम महिला फुटसलको उपाधि जनउत्थानलाई

खबरपथ संवाददाता
२९ फाल्गुन २०७७, शनिबार २०:३६

बुटवल । प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७७ को उपाधि सहकारी महिला समूहले चुमेको छ । शनिबार देविनगरस्थित ग्रिनफिल्ड फुटसल ग्राउन्डमा भएको फाइनल खेलमा पत्रकार महिला टिमलाई ९–० गोल अन्तरले पराजित गर्दै सहकारीले उपाधि चुमेको हो । सहकारी महिलाका तर्फबाट जनउत्थान सहकारी मैदानमा उत्रेको थियो । उपाधिसंगै जनउत्थानले नगद १० हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता पत्रकार महिला समूहले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रप्राप्त गरेको छ ।

प्रतियोगितामा सहकारीकी यस्मिना सलामी सर्वोत्कृष्ट, सगुन पाण्डे सर्वाधिक गोलकर्ता तथा सामाजिक अभियन्ताकी अस्मिता राना उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भइन् । खेलमा मानव अधिकारका लागि एकल महिला समूहलाई अनुशासित टिमका रुपमा सम्मान गरिएको थियो ।

प्रतियोगिताको फागुन २७ मा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरेका थिए । समापन सत्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

महिलाहरुद्धारा सञ्चालित रेडियो मुक्तिको १३ औं वर्ष प्रवेशको अवसरमा फुटसल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा एकल महिला, पत्रकार, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, व्यापारी, वकिल, व्युटिसियन एवं आयोजक रेडियो मुक्तिसहित १० महिला समूहहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु