केपी ओलीसंग सत्ता साझेदारी हुँदैन : जसपा अध्यक्ष यादव

खबरपथ संवाददाता
१३ चैत्र २०७७, शुक्रबार १९:०५

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरी लगायतलाई रिहाई र मुद्धा खारेज गरे पनि केपी ओली संग सत्ता साझदारी हुनै नसक्ने दावी गर्नु भएको छ । प्रेस मञ्च नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले राजनैतिक आन्दोलनमा होमिएकालाई फौजदारी मुद्धा लगाएर समाधान हुन नसक्ने बताउनुुभयो ।’ उहाँले भन्नुभयो–‘ती समस्याको समाधान पनि राजनीतिक रुपमै हुनुपर्छ ।’

अध्यक्ष यादवले मुलुकको वर्तमान राजनीतिक निकासको लागि ओलीलाई हटाएर संसद विघटन (प्रतिगमन) को बिरोध गरेका लोकतान्त्रिक शक्तिहरुको बिचबाट नयाँ सरकार बनाउनु उपयुक्त विकल्प हुने बताउनुभयो ।

अध्यक्षद्धय ठाकुर र महतोले प्रधानमन्त्री ओलीसंग सत्ता समिकरणको बिषयमा नभई राजनीतिक बन्दी रिहाई र मुद्धा खारेजीको विषयमा मात्रै छलफल गरेको उहाँको दावी थियो ।

अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त पार्ने प्रधानमन्त्री ओलीको चेष्ठाको कारण मुलुक यो अवस्थामा आईपुगेको बताउँदै आफ्नो पार्टीले प्रतिगमनलाई कुनै पनि हालतमा मलजल गर्न नसक्ने बताउनुभयो ।

सरकारले बहुमत गुमाएको र औपचारिकता मात्रै बाँकी रहेको उल्लेखगर्दै उहाँले प्रधानमन्त्री ओलीले पार्टी र सत्ता सञ्चालनमा असफल भएकोले सत्तामा टिकिईरहनको लागि प्रतिगनको यात्रामा अंगाडी बढेको समेत आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको ध्यान मुलुकको समृद्धि केन्द्रित नभई संघीय लोकतन्त्र, संविधानलाई समाप्त पार्ने र पुराना एकात्मक प्रणालीमा मुलुकलाई फर्काउने काममा केन्द्रित भएको समेत आरोप लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीले पुनःस्थापित संसदलाई सफल बनाउने भन्दा पनि विजनेश नदिएर असफल पार्ने काम गरेको समेत आरोप लगाउनुभयो । ‘संसदमा विधेयक नपठाउने, विजनेश नदिने हो भने संसदको के काम हुन्छ रु’ उहाँले प्रश्न गर्नुभयो । देशमा भ्रष्टाचार बढेको र स्वयम प्रधानमन्त्रीले भ्रष्टाचारलाई ढाकछोप गर्ने काम गरेकोले पनि यो सरकार अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम भईरहेको उहाँको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*