नयाँ बर्ष नयाँ उमंग

चक्रपाणी डुम्रे (शास्त्री)
३१ चैत्र २०७७, मंगलवार २२:३७

बुटवल ।  संसारमा हेरेक चिज परिवर्तनशिल छ । प्रत्येक बैशाख १ गते बिक्रम सम्बत को नयाँ सालको प्रारम्भ हुन्छ ।
नेपलको राष्ट्रिय संवत विक्रम संवत हो । नयाँ वर्षलाई संवतत्सर पनि भनिन्छ । सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यस अनुसार सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेला सम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ ।
चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले प्रत्येक संवतत्सर प्रारम्भअतः राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डर भन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्ष अगाडि नै विक्रमादित्यले आफ्नो संवत प्रयोगमा ल्याइसकेका थिए । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्परा अनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् ।

सेकन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ । जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्र अनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भए पछि पुनः सोही नाम दोहोरिने गर्दछ । हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नव आगन्तुक समयलाई नेपालीहरूले
हर्षका साथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउँँछन् । यस दिनमा सार्वजनिक बिदा दिइन्छ ।

नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन सँगै आउने हुँदा प्रकृतिमा एउटा नौलो आभाष आएको अनुभव हुनु स्वाभावि कै हो । उजाड तथा पतझर बोट बिरुवाहरूमा वसन्त ऋतु आगमन सँगै हरियालीले छाउने हँुदा प्रकृतिको सुन्दर दृश्यावलोकन
गर्न सकिन्छ । काफल गेडी पाक्ने समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्किरहेको हुन्छ । यसरी, प्रकृतिले पनि आफ्नो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा के बालक, वृद्ध, के युवक सबै नयाँ वर्षलाई सुखद भविष्यका रूपमा हेर्दछन् । यसै पावन अवसरमा आफ्ना इष्टमित्र, नाता कुटुम्ब, साथीसंगिनी आदिलाई भेट गर्ने मीठोे मसिनो खाने र खुवाउने भएको हुदाँ यस पर्वको महत्त्व ज्यादै लोकप्रिय हुन गएको छ । सबैले नयाँ वर्षको पात्रो किनेर आ-आफ्नो राशिफल के कस्तो छ भन्ने उत्सुकता रहेको हुन्छ । विगत वर्ष जे जस्ता घटनाहरू घटे तिनीहरूलाई चटक्क बिर्सी नयाँ वर्षमा आफ्नो कार्यशैलीलाई अगाडि बढाउन तँछाड्–मछाड्को भावना अभिपे्ररित भएको हुन्छ । हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी कार्यक्रमको थालनी गर्ने जमर्को गरिएको हुन्छ । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर बाँचेको हुन्छ । हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीलाई कुनै पनि नव वर्षको नयाँजोस, जाँगर र उमंग बोकेर आएको हुन्छ । त्यसैले नव वर्ष २०७८ साललाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं ।

नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु