अविश्वासको प्रस्ताव दर्ता लगत्तै लुम्बिनी प्रदेशको मन्त्रीमण्डल पुर्नगठन, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना बने मन्त्री
बुटवल । मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डेलाई मन्त्री र सुमन शर्मा रायमाझीलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादवलाई भूमि व्यवस्था, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै रायमाझीलाई राज्य मन्त्रीका रुपमा नियुक्त गरेका छन् । मन्त्री बनेका मध्ये कल्पना पाण्डे बाहेक अरु तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
सोमबार दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षर सहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सोमबार नै माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए।