आज १५ औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

खबरपथ संवाददाता
११ बैशाख २०७८, शनिबार ०९:०९

काठमाडौं । आज १५ औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ जनता सडकमा उत्रिए पछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापना सहित जनताले अधिकार पाएका थिए । १५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभा मार्फत जनताले आफ्नो संविधान आफैँ बनाए । संविधानसभा मार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो ।

प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षको अन्तरघुलनको परिणाम स्वरूप नेपालको झण्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो ।

नेपाली जनताले आफ्नो राष्ट्र प्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता नेपालको मौलिक विशेषता सहितको प्रणालीलाई स्थापित गरेको छ ।

राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याइएको छ ।

सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाँउमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् ।

दीर्घकाल देखि विभेदमा पारिएका, उँचनीचको व्यवहारमा पेलिएका समेत राज्यको मूलधारमा आएका छन् । समानुपातिक, समावेशी प्रतिनिधित्व भएको छ । जनताले आफूले लिनुपर्ने सेवा आफ्नै गाउँ–ठाउँमा पाएका छन् ।
यद्यपि राजनीतिक उपलब्धि प्राप्त भए पनि जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा देखिएका विकृति उस्तै रहेको भन्दै नागरिक असन्तुष्ट छन् । परिवर्तनलाई संस्थागत गर्ने र जनताका असन्तुसष्टिलाई पनि बेलैमा सम्बोधन गरी सरकार र राजनीतिक दल लागेमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*