मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको सपथ

खबरपथ संवाददाता
१९ बैशाख २०७८, आईतवार २१:२८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ वमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षर सहित वहुमत दावी गरे कै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (२)  अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिनुभएको थियो ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरे लगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएको प्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए पनि कडा सुरक्षा प्रबन्ध गरी मुख्यमन्त्री पोखरेललाई सपथ गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु