प्रधानमन्त्रीले कांग्रेससँग मागे विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संग विश्वासको मत दिन सहयोग मागेका छन् । बुधबार देउवा निवास पुगेका प्रधानमन्त्री ओलीले आफलाई विश्वासको मतमा सहयोग गर्न आग्रह गरेका थिए । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ ।
कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
भेटमा कांग्रेसको तर्फबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।
‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं र हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका छन् ।
उनका अनुसार कांग्रेस नेताहरुले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।