
प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाण्डौं । प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएकाले सरकारलाई विश्वासको मत नदिने निर्णय भएको उनले बताए ।
यस्तै संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको उनले बताए ।
ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको खाणले बताए ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।