नेपाल – खनाल समूहद्धारा सामुहिक राजीनामाको तयारी

खबरपथ संवाददाता
२६ बैशाख २०७८, आईतवार ०९:३७

काठमाण्डौं । नेकपा एमालेको नेपाल – खनाल समूहका सांसदहरुले सामुहिक राजिना दिने निर्णय गरेका छन् । शनिवार बसेको नेपाल – खनाल समूहको बैठकले उक्त निर्णय गरेको हो । अन्तिम प्रयास गर्दा पनि प्रधानमन्त्री केपी ओली ‘नसच्चिएको’ निष्कर्ष सहित एमालेको नेपाल- खनाल समूहका सांसदले राजीनामा दिने निर्णय गरेका हुन ।

प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल-नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकी सम्म सामूहिक राजीनामा बुझाउने तयारी नेपाल – खनाल समूहको छ ।

ओली र नेपाल – खनाल समूहका नेताहरूसँग पटक–पटक भएका छलफल निष्कर्षमा नपुगे पछि शनिबार अपराह्न देखि लगातार ६ घन्टा नेपाल – खनाल समूहका नेताहरूको बैठक बसेको थियो ।

पार्टी एकता जोगाउन आज वरिष्ठ नेता नेपाल सहितको शीर्ष नेतृत्व जुट्ने र त्यसमा सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति यो समूहको छ । ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

सांसदहरूले राजीनामा दिने समझादारी भइसकेको भए पनि यस सम्बन्धी अन्तिम निर्णय गर्न सो समूहले आइतबार स्थायी समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु