
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदै छन् । सोमबार बस्ने प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् ।
बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।
संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यस अघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली प्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।