प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोक्नु भएको छ ।
शुक्रबार राती बसेको मन्त्रिपरिषद बैठकको सिफारिस पछि राष्ट्रपति कार्यालयले शुक्रबार राति नै संसद विघटन र नयाँ निर्वाचन मितिको घोषणा सहित विज्ञप्ति जारी गरेको हो ।
मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६-५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६-७ अनुसार निर्णय गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
संविधानको धारा ७६- ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्न र अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७७ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी मिति तोक्न मन्त्रिपरिषदबाट निर्णय भई सिफारिस गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।