विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै, सांसदहरुलाई नागरिकतासहित भेला हुन निर्देशन
काठमाण्डौं । विपक्षी गठबन्धनका नेताहरु आज संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित सिंहदबारमा भेला हुन निर्देशन दिएका छन् ।
काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताउनुभयो । । ‘केहीबेरमा हामी सिंहदबारमा भेला हुँदैछौं । तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ भुसालले भन्नुभयो ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । राष्ट्रपतिको उक्त कदम विपक्षी गठबन्धनले अस्वीकार गरेको छ ।