विपक्षी गठबन्धनका सांसदहरू आज सर्वोच्च जाँदै

खबरपथ संवाददाता
१० जेष्ठ २०७८, सोमबार ०८:४६

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धमा विपक्षी पाँच दलका सांसदहरू आज सर्वोच्च जान लागेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सोमबार सर्वोच्च जान लागेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न परमादेश माग्ने तयारीमा उनीहरू छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालत जाने बताए । आइतबार नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा रोकिएको थियो ।

गत शुक्रबार देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो ।

देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका सांसदहरू नै सर्वोच्च जान लागेका हुन् ।  वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी पाँच दलले विरोध गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*