आज गणतन्त्र दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

खबरपथ संवाददाता
१५ जेष्ठ २०७८, शनिबार ०८:०८

बुटवल । आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्षको शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।  २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । सङ्घीय गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ । पछिल्ला वर्ष भ्रष्टाचार तथा दण्डहीनता बढ्दो छ । कोरोना महामारीको व्यवस्थापनमा हेलचेक्र्याइँले पनि राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको छ ।

चौधौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई सहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

‘संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु’, – राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा लगायतले पनि शुभकामना ब्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*