कर्मचारीको तलब २ हजार बृद्धि
काठमाण्डौं । सरकारले कर्मचारीको तलबमा बृद्धि गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दैे राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नु भएको हो ।
बजेट भाषणका क्रममा अर्थमन्त्रीले भन्नुभयो , ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समय सापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएता पनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ यस्तै महँगी भत्तालाई निरन्तरता दिएको पनि उहाँले बताउनुभयो ।
अर्थमन्त्रीले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाइ सार्वजनिक सेवालाई प्रभावकारी बनाइने पनि बताउनुभयो । निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थ बीमा सरकारले गरिदिनेछ । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताउनुभयो । यस्तै कर्मचारीका लागि सामूहिक आवासको व्यवस्था पनि गरिने बताउनुभयो ।