लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन आज हुँदै, प्रतिस्पर्धामा पाण्डे र खड्का
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदैछ । उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा रहेका छन् ।
दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचन बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन सकिए लगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेश अन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता रहेका छन् । उपनिर्वाचनमा कोरोना पोजेटिभका लागि छुट्टै मतदान स्थल बनाइएको छ ।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।