विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं । विवेकशील साझा दलका पूर्व संयोजक उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार निधन भएको अस्पतालले जनाएको छ । ४४ बर्षिय थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआए पछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको भए पनि परिवारले उनको अन्त्येष्टि साधारण पारिपारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको पारिपारिक तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।
उज्वल थापा नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष समेत हुन् । नेपालमा बैकल्पिक दलको खाँचो छ र त्यसलाई यूवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले विवेकशील नेपाली दल स्थापना गरेका थिए ।
उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच ०७४ मा एकीकरण भइ विवेकशील साझा पार्टी बनेको थियो ।
७ पुस २०७५ मा विवेकशील साँझा विभाजन गर्दै थापाले विवेकशील नेपाली दल ब्युताए । त्यस पछि थापाले पार्टीको नेतृत्व मिलन पाण्डेलाई हस्तान्तरण गरेका थिए । ७७ मंसिर २४ गते मिश्र र पाण्डे नेतृत्वको पार्टी मिलेर फेरि विवेकशील साँझा पार्टी बनेको छ । थापा विवेकशील साँझा पार्टीको शीर्ष नेताका रुपमा रहेका थिए ।