लुम्बिनी प्रदेशको बजेट अधिवेसन सुरु ,विपक्षी दलद्धारा मुख्यमन्त्रीको राजीनामा माग

खबरपथ संवाददाता
१९ जेष्ठ २०७८, बुधबार १५:४९

बुटवल । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश सभामा भएको ८ औं अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले आफ्ना धारणा राखेका छन्  ।

पहिलो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेसन आह्वान गर्नुभएको पत्र सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाए लगत्तै सुरु भएको विशेष समयमा बोल्दै लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्रीले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखे । अवैधानिक तवरले सरकार गठन गरिएको बताउँदै उनले आदर्श र नैतिकता देखाउँदै मुख्यमन्त्रीले राजीनामा दिन आग्रह गरे ।

बहुमतका लागि ४१ जना सभासद् सहित दावी गर्नुपर्नेमा मुख्यमन्त्रीले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले बैधानिकता गुमाएको खानले बताए । खानका अनुसार संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भए पनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा २ बमोजिमको बन्न पुगेको उनले बताए ।

उनले भने–‘धारा १६८ उपधारा १ अनुसार सरकार गठन भएको भनिएको छ । तर व्यवहारिक रुपमा उपधारा २ को छ । उपधारा २ मा अब सरकारले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अब विश्वासको मत लिने कि नलिने भन्ने प्रश्न सरकारको अगाडि तेर्सिएको छ  ।’

सचेतक खानले सरकार पुर्नगठन भएको आज बुधबार एक महिना पुगेको र आजसम्ममा सरकारले विश्वासको मत लिइसकेको हुनु पर्ने जिकिर गरे ।

गत सोमबार सम्पन्न भएको राष्ट्रिय सभाको लुम्बिनी प्रदेशमा भएको उप निर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट सन्देश दिएको उनको भनाई थियो । उनले भने–‘सरकार अल्पमतमा रहेको कुरामा अब नेपाली कांग्रेस संसदीय दल स्पष्ट र प्रष्ट रहेको छ ।’ सरकारले फेरि संसद छलेर अध्यादेशबाट बजेट ल्याएमा संसदीय व्यवस्थाको औचित्य पुष्टि नहुने बताए ।

त्यस्तै जनता समाजवादी पार्टी संसदीय दलका नेता सहश्राम यावदले सरकारले सत्ता लिप्त हुँदै स्वार्थ पूर्तीका लागि आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाए । कुनै पनि दललाई फुटाउने अधिकार सरकार सँग नभएको जिकिर गर्दै उनले आफू नै संसदीय दलको नेता भएको दाबी गरे । जसपाबाट सरकारमा सहभागी अन्य ४ जना सांसदहरुले संसदीय दलको नेता चयन गरेकोप्रति आपत्ति जनाउँदै उनले आफू नै दलको आधिकारीक नेता भएको दाबी गरे । लुम्बिनी प्रदेशसभामा भएका ६ जना सदस्य मध्य यादवको पक्षमा उनीसँगै २ जना सरकारको विपक्षीमा उभिएका छन् भने ४ जना सरकारमा सहभागी छन् ।

यसैगरी नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य सुरदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेलको वैधानिकमा माथी प्रश्न उठाउँदै सपथ ग्रहणप्रति आपत्ति जनाए । बरालले मुख्यमन्त्रीलाई सपथ खुवाउनका लागि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्रीको क्वाटरमा पुर्याइएको टिप्पणी गरे । प्रदेशसभाका बहुमत सदस्यहरु एकातिर हुँदाहुँदै अवैधानिक रुपमा मुख्यमन्त्री पोखरेललाई सपथ ग्रहण गराइएको बताउँदै उनले नैतिकताका आधारमा वर्तमान सरकारले राजीनामा दिनु पर्ने माग गरे । बैठकमा सदस्यहरु विरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गरेका थिए ।

बर्षे अधिवेसनमा नीति कार्यक्रम र बजेट पेश हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*