सरकारद्धारा मन्त्रिपरिषद् पुनर्गठन , मन्त्रीहरुले लिए सपथ

खबरपथ संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार २१:२९

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधान सहित अर्थ, रघुवीर महासेठ उपप्रधान सहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधान सहित शहरी विकास मन्त्री बनेका छन् । उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन् । शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट महतो बाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन्  ।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन् ।

उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफै सँग राख्ने भएका छन् ।

मौजुदा मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद :

प्रधानमन्त्री केपी शर्मा ओली :  रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल :  उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो:  उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ :  उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ: स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ: मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी: मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*