नेपाल खनाल पक्षले अध्यक्ष ओलीको ‘एकता आह्वान’को लिखित जवाफ दिने
काठमाडौँ। नेकपा एमालेको नेपाल खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ ।
सोमबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको छ । नेपाल खनाल पक्षले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनासयले आएको निष्कर्ष निकालेको हो । विघटन ठीक हो भन्ने स्थापित नहुँदा सम्म हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको निर्णय छ ।
ओलीले इमान्दारी पूर्वक पार्टी एकताको प्रस्ताव नल्याएको समेत निष्कर्ष निकालेको छ । उक्त आह्वानलाई जालझेल पूर्ण भन्दै अश्वीकार गरेको छ ।
बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिए मात्र एकता हुने निष्कर्ष निकाले छ ।
आईतबार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका थिए ।