
गण्डकीमा आज प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशमा प्रदेश सभा बैठक आज बस्दैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिन अघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।
जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुख सहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।
यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेका छन् । जसले गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २८ सांसद मात्रै देखिएका छन् । बहुमतका लागि ३१ सांसद चाहिन्छ ।