गण्डकीको मुख्यमन्त्रीमा नेपालीले गरे दावी पेश , प्रदेश प्रमुख समक्ष बुझाए ३१ सांसदहरुको हस्ताक्षर
पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरे पश्चात काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको लागी दावी पेश गरेका छन् । नेपाली सहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका हुन । विपक्षी दलहरुले वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएका छन् ।
प्रदेश प्रमुखले भोलि दिउँसो ३ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएर बुझाइएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।