सांसद वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

खबरपथ संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ११:२७

काठमाण्डौं । नेपाली कांग्रेसले शुक्रबार बागमती प्रदेश-सभा बैठकमा विवादास्‍पद अभिव्‍यक्‍ति दिएका सांसद नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ।

पार्टीले शनिबार एक विज्ञप्‍ति जारी गर्दै प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुका पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न समेत सचेत गराएको जनाएको छ।

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छु प्रवक्ता विश्‍वप्रकाश शर्माद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छु।

‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन। शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ’, विज्ञप्तिमा अगाडि भनिएको छ।

हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नरहेको भन्दै पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु