एमालेले भन्यो- वैद्यको अभिव्यक्ति ‘आपराधिक,आपत्तिजनक र निन्दनीय ’

खबरपथ संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ११:३९

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

शुक्रबार बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तो सुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्‍यक्‍ति दिएका थिए।

नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

उक्त अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु