गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाए पछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।
त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।