गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलद्धारा पदबहाली
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेका छन् । शनिबार प्रदेश प्रमुखबाट शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिए ।
उनले प्रदेशको समग्र विकासमा आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए । “प्रदेशको समग्र विकासका लागि अघि बढ्ने अठोट गरेका छौँ,” उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरे लगत्तै दुईवटा निर्णयहरु गरेका छन् ।
मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय भएकाे निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले बताए ।