नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

खबरपथ संवाददाता
३ असार २०७८, बिहीबार १६:२०

काठमाण्डौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा साढे ३ बजेदेखि बैठक सुरु भएको हो । बैठकले गत शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधन सहित पारित गर्नेछ ।

पदाधिकारी बैठकबाट पारित नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यता माथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइ सक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।

भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।

प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन् ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ । संशोधित तालिका अनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ । कोरोना महामारी र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी बैठकमा महाधिवेशन गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु