
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्धारा बैठक बहिस्कार

बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले बैठक बहिस्कार गरेका छन् । आईतबार प्रदेशसभामा बसेको बैठक शुरु हुनासाथ अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै विपक्षी गठबन्धनले बहिष्कार गरेका हुन ।
बैठक शुरू हुनासाथ विशेष समय माग गरेर बोल्दै काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार आफै वैद्य नभएको बताउँदै आफ्नो बैद्यतालाई प्रदेशसभामा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका थिए ।
उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएको भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाएर बजेट ल्याउनु दुखद भएको बताए । मनपरी रुपमा आएको बजेटको स्वामित्व आफूहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताए ।
उनले बजेटमा त्रुटी भएका ठाँउमा सच्चा एमात्र सहयोग गर्न सक्ने स्पष्ट पारे । विपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका थिए ।
लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकता माथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भए पनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।