मन्त्रीहरुको जिम्मेवारी हेरफेर,गृहको जिम्मा विष्णु पौडेललाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वोच्चले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राख्नु भएको छ । त्यस्तै गरी उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
त्यसैगरी मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन पछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।