
देउवा सरकारको पहिलो निर्णय : चैत मसान्तभित्र सबै नागरिकलाई खोप

काठमााण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ ।
पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्त भित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए ।
पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।
मन्त्री कार्कीका अनुसार कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने उनले बताए ।
विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ, उनले भने ।
मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो ।