
लुम्बिनी सरकारले अध्यादेश मार्फत बजेट ल्याउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।
प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो । यस बारे प्रष्टयाउन शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
प्रदेश सरकारले नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न सभामुख पूर्णबहादुर घर्तीलाई अनुरोध गर्ने तयारी गरेका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ ।