लुम्बिनी सरकारले ल्यायो अध्यादेश मार्फत बजेट

खबरपथ संवाददाता
१ श्रावण २०७८, शुक्रबार २१:५४

बुटवल। लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिशमा लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको हो । मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र आर्थिक अध्यादेश–२०७८ जारी गर्ने निर्णय गरेको थियो । अध्यादेश जारी भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वनयका लागि बाटो खुलेको छ ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विपक्षीको बजेट पास हुन नदिने रणनीति बुझेर सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन परेको बताए । मन्त्री चौधरीले सरकारले कुनै पनि काम अघि बढाउन नसक्ने गरी अवरोध गर्ने संकेत देखिए पछि अध्यादेश मार्फत बजेट ल्याउन बाध्य भएको बताए ।

बिहीबारको प्रदेश सभामा छलफल सकिएर निर्णयार्थ पेस गर्ने समयमा बजेट पारित नहुने संकेत पाएपछि मुख्यमन्त्री शंकर पोखरेल सहित सरकारका मन्त्री र सत्ता पक्षका प्रदेशसभा सदस्यले बैठक नै बहिस्कार गरेका थिए ।

बिहीबार प्रदेश सभामा प्रस्तुत भएको बजेट सरकारले प्रदेश सभाबाट पारित गराउन नसकेपछि  मध्यरातमा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु