मेरो पत्रकारिता र परेवा पत्रिका

भोजराज भट्टराई
२ श्रावण २०७८, शनिबार १५:५३

पाल्पा । अठार वर्ष अगाडि सामान्य व्यवसायमा रहँदा रेडियो नेपाल केन्द्रीय प्रसारणका फर्माइस कार्यक्रममा मेरो नाम आइरहन्थ्यो । तानसेनको जनता माविमा पढ्दै गर्दा मैले फलानो गीत फलानो फलानो साथीको सम्झनामा भन्दै रेडियोको पोस्ट बक्स नं।मा पोष्ट कार्डबाट पत्र पठाइरन्थेँ । रेडियोमा नाम बजेको सुनेर गाउँ, छिमेकी गाउँका चिनेजानेका आफन्तले खुव फुर्काउँथे । त्यसबेलाको प्रेरणाले मलाई पत्रकारितामा टिकिरहन विशेष उर्जा थपेको ठान्दछु ।
‘तपाइँ लेखाइमा थप सुधार गर्नुस्, पत्रकारितामै तपाइँको भविष्य छ’ सात वर्ष अगाडि पाल्पामा पत्रकारिता तालिम लिदँै गर्दा मलाई मोहन मैनालीले भन्नुभयो । कहिलेकाँही बोलीमा सरस्वतीको बास हुन्छ भने जस्तै पत्रिका प्रकाशनबाटै जिविका चल्दोरहेछ भन्ने बुझेदेखि प्राय लेख्नबस्दा मैले मोहन मैनाली गुरुलाई झल्झल्ती सम्झन्छु । त्यसयता भौतिक भेट नभएपनि उहाँ सम्झनामा बारबार आइरहनुहुन्छ ।

त्यतिबेला मैनाली गुरुसँग तालिम लिँदा पत्रकार बनेर मैले दश वर्ष विताइसकेको थिएँ । अहिले पत्रकारितामा लागेको सत्र वर्ष पूरा भएछ । पत्रकारितामा उच्च औपचारिक अध्ययन बाँकी छ । औपचारिक अध्ययनबाटै पत्रकारितामा लागेपनि यसतर्फ उच्च शिक्षाको भोक रहेकोले होला म अझै पनि आफूलाई पत्रकार ठान्दिन । पत्रकारितामा जमेका मेरा दौँतरीहरूभन्दा म निकै ढिलो यस पेशामा आएको हुँ । र, त्यो पनि स्वर्गीय सूर्यकुमार क्षेत्री र सुनिल कोइरालाजीको प्रेरणाले । पत्रकारिताका नाममा मैले रेडियो, छापा र अनलाइनको समेत अनुभव बटुलेको छु । पत्रकारितामा दर्जनबढी सञ्चार गृहमा आवद्ध रही काम गर्ने मौका मिलेपनि अरुको मिडियामा मजदुर बनेर काम गर्दा मलाई व्यर्थ यता आएँछु जस्तो लाग्दथ्यो । छ वर्ष अगाडिदेखि आफ्नै पौरखमा परेवा प्रकाशन थालेपछि भने मलाई पत्रकारितामा आफ्नै लगानी, खटनपटन भएमा भविष्य राम्रो हुँदोरहेछ भन्ने लाग्न थाल्यो ।


पत्रिका प्रकाशनको लागि दर्ता प्रक्रियामै जाँदा मैले लोकसेवामा नाम निकालेको थिएँ । परिवार आफन्तले यो पेशा छाडेर त्यतै लाग्न सुझाव दिनुहुन्थ्यो । मैले स्थायी निजामतिमा एकदिन मात्र हाजिर जनाएर त्यता लागिन । पत्रकारितामै लाग्छु भनेर दुई वर्षदेखि पढाइरहेको विद्यालय पनि छोडेको थिएँ । जीवनको उर्जाशील समय पत्रकारितामा लगाएर बर्बाद गरेँ, यसको प्रतिफल आफ्नै लगानीमा मिडिया सञ्चालन गरेरै भएपनि लिन्छु भन्ने मेरो भित्री इच्छाले म निजामतिको स्थायी जागिर र पढाउनपट्टी नलागेको हुँ । सात वर्ष अगाडि मसँगै लोकसेवामा नाम निकालेका समाकालिन साथीहरू अहिले निजामतितर्फ सातौं तहमा पुगिसके । सँगै पढाएका साथीहरू सरकारी विद्यालयका प्र।अ। छन्, क्याम्पसमा प्राध्यापन पेशामा छन् । तर म त्यतातिर नलागेर आफ्नै पत्रिका प्रकाशनमा सात वर्ष विताएँ । भोलि के होला थाहा छैन तर यतिबेलासम्म पत्रिकारितालाई मुख्य पेशा बनाएकोमा कत्ति पछुतो÷गुनासो छैन । समकालीनहरूको पदीय तह र मेरो पेशागत समयको तह एउटै जस्तो लाग्छ । पत्रकारिताबाट आफू जिउने बाटो बन्दोरहेछ भन्ने लागेपछि भने म यसलाई निरन्तरता दिदैँ अनुकूल मिल्दो भएपछि एक प्रोजेक्टको करारको जागिर खान थालेको छु । जागिरमा जोडिएको पनि दुई वर्ष लाग्न थालिसक्यो । जिम्मेवारी थपिएपछि जागिर र पत्रकारिता दुवैलाई थप सशक्त बनेको छ । दुवैलाई आफ्नो आफ्नो ठाउँमा प्रसस्त समय दिएको छु । जागिरको अतिरिक्त समयलाई मैले पूरै पत्रिकारितामा लगाएको छु । यसले मलाई समय सीमाङ्कनमा लगाम लगाएको छ । समयसँगै हिँड्न सिकाएको छ ।
यो अंकदेखि परेवा पत्रिकाले छैठौं वसन्त पूरा गरी सात वर्षमा पाइला टेकेको छ । शान्तिको प्रतिक परेवालाई विम्ब बनाएर सामाजिक गतिविधिका विषयवस्तुलाई प्रकाशन गर्दैगर्दा परेवाले आफूलाई थप प्रतिस्पर्धामा जिम्मेवारीका साथ समावेश गरेको छ । मोफसलमा बसेर पत्रकारितामा भविष्य देख्नु चानेचुने कुरा होइन । सानो बजार क्षेत्र, पठन संस्कृतिको अभाव, छापा पत्रकारिताप्रति समाजको साँघुरो दृष्टिकोणले पत्रिका प्रकाशनलाई अफ्ठेरो हुनु स्वभाविक हो । यद्यपि समकालिन र आदरणीय शुभेच्छुकहरूले निरन्तर आड, आश्रय र उर्जा थपेकै कारण परेवा प्रकाशनलाई निरन्तरता दिन सकेको हो ।
विकृतिलाई औंल्याउने र सुकृतिलाई फैलाउनु पत्रकारिताको धर्म हो भन्ने मान्यताका साथ परेवा प्रकाशनमा आएको हो । हाम्रो लक्ष्य समृद्ध समाजका लागि नागरिकलाई समाजका सूचना थाहा दिनु हो । सूचनाबाट नागरिक विमुख भएनन् भने विकास निर्माण र सुशासनले गतिलिन्छ भन्ने हाम्रो मान्यता छ । योसँगै राष्ट्रियताको सवलीकरण, वर्तमान लोकतन्त्रका मूल्यहरूको रक्षा, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरणको विषय र सीमान्तकृत नागरिकहरूको आवाजलाई मुखरीत गराउनु पनि परेवाको चाहना हो । हामी लामो बाटो हिँड्नुछ । गन्तव्यमा पुग्न गोरेटोमा अनन्त यात्रा गर्नुछ । ‘समृद्ध समाजका लागि’ भन्ने नाराका साथ नागरिकलाई सूचना प्रवाह गर्दै सामाजिक गतिविधि थाहा दिने हाम्रो मूल लक्ष्यलाई हामीले भुलेका छैनौ र नभुलि निरन्तर अगाडि बढ्न प्रतिवद्ध छौं ।


पत्रकारितामा लागेर सन्तोष मान्नेहरूको संख्या न्यून छ । नयाँ पुस्ताहरूको पत्रकारिताप्रति आकर्षण कम छ । तुरुन्तै आर्थिक प्रतिफल नआउने, लामो अनुभव र तपस्याबाट पेशाबाट सहजता हुने भएकोले मोफसलमा नयाँ पुस्ताको पत्रकारिताप्रतिको आकर्षण कम भएको हो । केन्द्रमा राम्रो पहुँच र अवसर भएपनि मोफसलमा आफै मिडिया सञ्चालन गर्ने, आफैं समाचार संकलन गर्ने, आफैं टाइप सेटिङ गर्ने र आफ्नै घर या संस्थाबाट मिडिया चलाउनेहरूमात्र यसलाई येनकेन रामै्र छ भनेर अगाडि बढाएका छन् । विशुद्ध पत्रकारितामा लागेर जिविकोपार्जन गर्नेहरू पनि नभएका होइनन् तर सामान्य खटनपटनले पत्रकारितामा टिकिरहन सजिलो छैन भन्नेमा उनीहरू विश्वस्त छन् ।

पछिल्लो समय स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएर सञ्चारगृहलाई काँध हालेको छ । प्राय स्थानीय छापा, रेडियो, टेलिभिजनलाई स्थानीय तहले पु¥याएको सहयोगले परेवा पत्रिकाको पनि गोरेटो फराकिलो बन्न थालेको छ । सञ्चार सम्बद्ध संस्थाहरूसमेत स्थानीय विज्ञापन, सूचना प्रकाशनलाई स्थानीय मिडियामै समावेश गर्नको लागि निरन्तर आवाज उठाइरहेका छन् । नीतिगत व्यवस्था दर्विलो भई कार्यविधि बनेर स्थानीय सूचनालाई समानुपातिक विज्ञापन नीतीका आधार स्थानीय तहमै छापिने व्यवस्था लागु भयो भने पत्रकारिता गर्नेहरूको पेसा थप सजिलो बन्न सक्दछ ।
अहिले नागरिकहरू जागरुक र सूसूचित भइसकेको अवस्था छ । सूचना र प्रविधिको पहुँच हातहातमा पुगिसकेका छन् । सवैको हातहातमा नयाँ नयाँ ग्याजेट छन् । सामान्य औपचारिक कार्यक्रमका समाचार कभरेज गरेर मात्र मिडिया चलाउन सकिने अवस्था छैन । पाठकहरूलाई पूराना विषय पस्कदा इतिहास प्रकाशन गरेजस्तो हुन्छ । पत्रकारिताबाट खोज, अनुसन्धान र सामाजिक रुपान्तरण गर्नको लागि अध्ययन, साधना र पाठक, समाजको सहयोग अनिवार्य रहन्छ । हामी आम पाठकका लागि समयचेत विषयवस्तु पस्कनका लागि निरन्तर साधनामा लागिरहनेछौं । समयानुकूल विषयवस्तु पस्कँदै आम समुदाय र सरोकारवाला निकायसँग सधैंसधैं हातेमालो र सहकार्य गर्न तयार छौं । यसका लागि पाठक, शुभेच्छुक, सूचना, विज्ञापनदाताको सहयोग अनिवार्य हुन्छ । शान्तिको विम्ब परेवालाई निरन्तर शान्तिको सन्देशसहित गतिशिल बनाइरहन सवैको सहयोग चाहन्छौं । पत्रकारितालाई मर्यादित, विस्वासनीय बनाउने अभियानसहित अगाडि बढेको परेवाको यात्रामा सवैको शुभेच्छा रहोस् । जय पत्रकारिता ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*