मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाईयो, जबरजस्ती हस्ताक्षर गराइयो – सांसद वली
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाईएको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई जबरजस्ती विभिन्न माइन्युट र विज्ञप्तिमा हस्ताक्षर गराएको बताएकी छन् ।
सांसद वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरूबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । मैले त्यसलाई निरन्तर ईन्कार गरिरहेँ, गत साउन १५ गते उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर आउनुभयो । म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु भन्दा उहाँहरूले हामी पनि नेपालगन्ज जाने हो, पुरार्याइँ दिन्छौं भन्नुभयो । विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानु भयो । गाडीमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो । मैले प्रतिवाद गरेँ । एक पटक मुख्यमन्त्रज्यूलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो । सांसद वलीले मुख्यमन्त्री कार्यालयमा राखेर आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत बताएकी छन् ।
सांसद वलीले आफू २० गते मुख्यमन्त्री निवासबाट भाग्न सफल भएको बताएकी छन् । उनले भनिन मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’ आफ्नो चप्पल लगाउँदा आवाज आउने भए पछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् ।