
हरित साउन : महिना एक, प्रसङ्ग अनेक

पाल्पा । साउन महिना सकिन अब धेरै दिन छैन । अहिले जताततै डाडाँकाडाँ, पाखापखेरा चिस्यान र हरियाली छन् । सर्वत्र हरियाली भएर होला वर्षभरीका बाह्र महिनामध्ये साउन अरुलाई जस्तै मलाई पनि विशेष लाग्दछ । त्यसो त साउनको आफ्नै किसिमको महत्त्व छ । साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरूको लागि महत्त्वको महिना हो । वर्षा, झरी र प्रेमको संगम मानिने श्रावणमै जन्मदिन पर्नुले पनि यो महिनाले मेरो लागि खास महत्त्व राख्दछ । साउनलाई संकेत गरेर सिर्जना कोर्न, लेख तयार गर्न र घुमफिर गर्न नरुचाउने विरलै हुन्छन् ।
लेखक टंक भट्टराईको नजरमा साउन वर्षातको महिना हो । बाढी पहिरोको महिना हो । वर्षभरिका दूषित फोहोर बगाउने महिना हो । हुनपनि साउनमा प्रकृति अचम्मैसित सजिन्छिन् । मैले यता पाल्पाबाट बिहानीपख कुहिरोरुपी घुम्टोले ढाकेको माडिफाँट र पानी परेपछि आकाश खुलेपछि हरियै भएको माडीफाँट श्रावण महिनामै एकसाथ नियाल्न पाएको छु । साउनमा जता हे¥यो हरियै देखिन्छ । पानीका मूल फुटेर प्राय हिँडिरहने गोरेटो, अनि ससना बाटाघाटामा राम्रै चिस्यान भएर पानीका धाराहरू कुलकुलाइरहेका भेटिन्छन् ।
साउनको रौनक ग्रामीण किसानमा हुन्छ । साउनको रमझम खेतका गरामा हुन्छ । साउनको असली रुप कुहिरोले ढाकेका वनपाखा र ग्रामीण बस्तीमा हुन्छ । साउनको झंकार झरीमा हुन्छ । साउनको गर्जन खोला खहरेहरूमा हुन्छ । सहर त झिझ्याट मान्दो हो, झरीसँग, आक्रोस पोख्दो हो हो हिलोसँग, डराउँदो हो कुहिरो र खोलासँग ।
नडराउन पनि किन साउनमै हिलाम्य बाटा, नाली छेकेका सडक कुनाका ससना पहिरा र नाली नखनी र पहिरो छेक्ने ग्याविङ नराखी विस्तार गरिएका बाटा अनि कमजोर इन्जिनियरीङ स्टीमेटमा बाटामा छापिएका ढुङ्गाले यता तानसेनका केही सडकले बजारको शोभा विगारेका छन् । यद्यपी बजारको सौन्दर्य विस्तारका लागि श्रावण महिनामा फूलै फूलको शहर बनाउने पूर्व घोषित कार्यक्रम अनुसार घरघरमा राखीने गमलाले बजारलाई सौन्दर्यविस्तारमा सघाउ पु¥याएको छ भने नागरिकको निरन्तर आग्रहपछि बिग्रे भत्केका सडक टालटुल र स्तरोन्नतीले क्रमश ठाउँ लिएका छन् ।
श्रावणमा गाउँ मस्तसँग लुकामारी खेल्छ कुहिरोसँग, रमाउँछ झरीसँग, मितेरी गाँस्छ हिलोसँग र जिन्दगीका गीत गाउँछ खोला खहरेसँग । लेकाली गाउँहरूमा असारमै धान रोपी सक्छन् । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष राम्रै वर्षा भएर पाल्पामा पनि ९७ प्रतिशत रोपाइँ असारमै सकिएको छ । श्रावणको पहिलो दिनमै साउने संक्रान्ति अर्थात कर्कट सक्रान्ति मनाउने गरिन्छ । नेपालीमा एउटा उखान पनि छ ‘माघे संक्रान्ति मान्नु मरिन्छ कि भनेर, साउने संक्रान्ति मान्नू बाँचिन्छ कि भनेर’ त्यस्तो त साउनसँगका अन्य उखान पनि नेपाली समाजमा प्रचलनमा छन् । ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ ।’ यस्ता उखानले श्रावणको महिमालाई वर्णन गरेको पाइन्छ ।
साउन लागेपछि बर्खा सकिएर चाडवाड पनि शुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहन्दी मात्र होइन विवाहितदेखि अहिववाहित महिलाहरूसम्मले सोमबार ब्रत बस्ने गर्दछन् । विवाहित महिलाहरूले आफ्नो पतीको दिर्घायूको कामना गर्दै र अविवाहित युवतीहरूले राम्रो वरको कामनासहित साउनको सोमबार ब्रत बस्ने प्रचलन रहिआएको छ ।
धर्म संस्कृतिका जानकार विजय मल्लका अनुसार साउनमा ब्रत बस्नेहरूले माछामासु, लसुनप्याज नखाएर नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरूको खासै धार्मिक महत्त्व नभएपनि साउनमा प्रकृति र पोसाक चाखलाग्दो देखिन्छ ।
विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरूको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतीकको रूपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आकर्षण र रमाईलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गर्दछन् । पछिल्लो समय धेरै सेलीब्रेटीहरूले पनि साउनलाई फेसनको रूपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिंड्ने महिलाहरू विरलै देख्न पाइन्छ ।
भगवान शिवको पूजा आराधना गरी बिताइने महिना भएर पनि होला देशभरका अन्य धार्मिक मठ मन्दिरमा जस्तै पाल्पाका शिव मन्दिरमा सोमबार ब्रत बस्ने महिलाहरूको बाक्लै उपस्थिति देखियो । देशका अन्य ठाउँमा जस्तै तानसेन परवासको शिवमन्दिर, भगवतीटोलस्थित ब्रदेश्वर शिवालय मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय, १०८ शिव मन्दिर, लगायत जिल्लाका अन्य ठाउँका शिव मन्दिरमा साउन महिनाभर ब्रतालु महिलाहरूको बाक्लै उपस्थिति रह्यो ।
यतिबेला तानसेनबाट देखिने माडीफाँट, पेरीफेरीका दृश्य अनि उता माडिबाट देखिने हरित श्रीनगर र पेरीफेरीका दृश्य मनमोहक र सुन्दर देखिरहेको छु । पानी परेर हल्का इन्द्रेणी पर्दा पर्दापछाडिको हरित दृश्यलाई साथ राखेर कैद गरिने तस्विर, रोपाइँ सकेर माडीका समथर फाँटहरूमा हुर्कदै गरेका धान, भुटे, पोलेर खान ठिक्क परेका दूधिला हरिया मकै, प्रसस्त चिस्यान पाएर हरिया देखिने डाडाँकाडाले साउनलाई थप शोभनीय बनाएको जस्तो लागेको छ । यो मैले देखेको नजिकको दृश्य मात्र हो ।
साउन १५ मा खीर लगायत मिष्ठान पकवान बनाई परिवारमा बाँडेर खाने चलन छ । साउन महिनामा लुतो फाल्ने परम्परा रहेको छ । त्यसो त साउनको पहिलो दिन नै विशेष गरी पर्वको रूपमा मनाउने गरिन्छ । हुनपनि हो वर्षायाममा किसानले वर्षभरिका लागि खेतबारीमा बाली रोप्छन् । खेतका अगाडि रोपेका मकै भित्र्याएर धान रोप्छन् । धान रोपिसकेपछि बारीमा कोदो रोप्छन् । यी बालीसँगसँगै उनीहरूले आफ्ना सपना र खुसीहरू पनि रोप्छन् । साउने संक्रान्तिपछि नागपञ्चमी, रक्षावन्धन, तीज, कृष्ण जन्माष्टमी, गाइजात्रा, कुशे औंशी (बाबुको मुख हेर्ने दिन), सोह्र श्राद्ध हुँदै दशै, तिहार, छठ, इदजस्ता ठूला ठूला चाडवाड आउँछन् । श्रावणमै विशेष लाग्ने जात्राहरूले पनि यसको महिमालाई विशेष बनाएको पाइन्छ ।
बदलिँदो परिस्थिति, परम्परा एवम् स्वरुपहरूमा परिवर्तन आएको छ । सोमबारको ब्रत भावनाका अतिरिक्त रचनात्मक, केही प्रदर्शन र आधुनिकताको पर्याय बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्पराको एक हिस्सा हो । श्रीमानप्रति प्रगाढ माया र पारिवारिक सुख दिने हुनाले हालको सन्दर्भमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि यो चाड मनाउन थालेका छन् । यसले महिलाहरूमा महिलाहरूमा आपसी सद्भाव बढेको देख्न सकिन्छ । यो दाम्पत्य जीवनको खुसी र दीर्घायुको लागि गरिने व्रत हो । दाम्पत्य जीवनको खुसीका लागि श्रीमान–श्रीमतीबीच सामञ्जय एव्म सद्भाव पनि उत्तीकै आवश्यक रहेकोमा धर्मसंस्कृतिका जानकार विजय मल्लको ठम्याइ छ ।
राष्ट्र प्राकृतिक र सांस्कृतिक दृष्टिले जतिसुकै धनी भए पनि हामीले त्यसको सही उपयोग गर्न सकेका छैनौं । प्रकृतिले दिएको उपहार ग्रहण गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । हामी चिन्तनले गरिब नहुने हो भने स्रोत र साधनले गरिब छैनौं । देशलाई सुन्दर र नागरिकलाई सुखी बनाउने उपाय कति छन् कति । प्रकृतिले पर्यटकलाई तानिसकेको छ तर हामीले आफ्नातर्फबाट तान्न सकिरहेका छैनौं । हाम्रा खोलानाला धेरै छन् । तिनको पहिला त विद्युतका लागि उपयोग गर्नुपर्दछ । त्यसपछि धार्मिक तथा मनोरञ्जनका लागि जलमार्ग बनाउन सकिने सम्भाव्य ठाउँको अध्ययन गरी सोको व्यवस्था मिलाउनुपर्दछ । यसबाट पर्यटकमा आकर्षक बढ्नुका साथै पेट्रोलियम पदार्थमा हुने खर्चमा पनि केही कटौटी हुन पुग्दछ । आफ्नो सुगन्धको चाल आफैले नपाएर कस्तूरी बनभरि भौँतारिएझैँ हामी हाम्रा प्राकृतिक र सांस्कृतिक निधिको महत्त्व नबुझेर अब विदेश विदे भौँतारिन हुँदैन । हामीले हाम्रा धर्म, संस्कृति र प्रकृतिका अनुपम उपहार र हाम्रा मौलिक सम्पदलाई जीवन्त राख्दै भावी पुस्तामा सुरक्षित तवरले हस्तान्तरण गर्ने कुरामा सधैं चनाखो हुनु आवश्यक छ । संघ, प्रदेश र स्थानीय सरकारले पनि साउन महिनाका जस्तै अन्य महिनामा हुने स्थानीय कला, संस्कृति र सम्पदाको लागि संरक्षण र प्रवद्र्धनको लागि उचित कार्यक्रम अगाडि सार्न सकेमा हाम्रो संस्कृति र सम्पदाले थप सुन्दरता पाउनेमा दुई मत छैन ।
सन्दर्भ सामग्री :
मल्ल, विजय (२०७६), हरियो साउन, हरिया चुरा र हातमा मेहन्दी, काठमाडौ : सेतोखरी डट कम । घिमिरे, रामबाबु (२०७६), केन्द्र र परिधी, चितवन : दक्षिणकाली छापाखाना ।
भट्टराई, टंक (२०७७), साउनका हरिया सम्झना, काठमाडौ–१ श्रावण :अन्नपूर्ण पोष्ट दैनिक ।
पौड्याल, डा. एकनारायण (२०७२), बादलभित्रको देश, चितवन : विमर्श नेपाल ।
दीक्षित, कनकमणी (२०७७), हरित उपत्यका महात्म्य, काठमाडौ : हिमालखबर डट कम ।