पुरुषले व्यंग गर्न महिलाको शरिर नै चाहिन्छ ?

सुष्मा छिनाल
९ भाद्र २०७८, बुधबार ०९:४४

प्रिय रातो पाटिका सम्पुर्ण साथीहरु तथा विशेष गरी कार्टुन निर्माण गर्ने साथीहरु तपाई सम्पुर्णलाई मेरो एउटा साझा सवाल तपाईहरुलाई जात्राको मर्म तथा संबेदनशिलताको बारेमा जानकारी छैन विद्यालयमा सामाजिक शिक्षा राम्रो सँग पढ्नु भएन हो ? सायद पितृसत्ताले नै होला तपाईहरुलाई समाजमा रहेका हानीकारक परम्परागत अभ्यास माथि गहन सोँच राखेर त्यसको विरोध गर्ने क्षमता दिएन जस्तो छ । सुन्नुस है गाईजात्रा त राजा प्रताप मल्लले पटक पटक आफ्ना सन्तान गुमाएर निरास भएकी आफ्नी श्रीमतीलाई खुसी बनाउन सुरु गरेको पर्व हो । तर प्रिय रातो पाटिका साथीहरुले आज त्यहि रानीको आत्मालाइृ पनि साह्रै रुवाएको र दुखी बनाएको छ । हुन तः यो पित्तृ सत्तात्मक सोँचका बिरामीहरुले कहिले पो महिलाको अस्तित्वलाई स्विकार गरी उनीहरुलाई खुसी नै दिएको छ र ?
महिलाको अस्तित्व उनीहरुको मान सम्मानमा कत्ति पनि संबेदनशिल नभएका यस्ता कार्टुनहरुले हाम्रो समाजमा रहेको पित्तृ सत्तात्मक रोगको जटिल अवस्थालाई खुलस्त रुपमा झल्काएको छ । के महिलाको गर्भाअवस्था विना तपाईको जिवन सम्भव छ, मानव अस्तित्व नै सम्भव छ र? खुसी र हाँस्यमा मनाउने पर्वमा व्यग्यात्मक रुपमा कुनै पक्षलाई दर्शाउने क्रममा महिलाको शरिर माथि आक्रमण गरी उनको शरीरको मजाक बनाई प्रस्तुत गर्ने अधिकार कस्ले दियो ?
के यो भालेबादमा चलेको समाजमा महिलाले आफ्नो सम्पुर्ण शरिर छोपेर पुरुषको अगाडी एक निरिह प्राणीको रुपमा आफुलाई प्रस्तुत गर्नुपर्छ भन्ने माग हो र ? कुनै महिलाले आफ्नो गर्भाअवस्थालाई पर्वको रुपमा मनाई त्यस समयलाई गर्वका साथमा लिँदा तपाईरुलाई किन अपाच्य भएको ?
तपाईहरुलाई थाहा छ म कुन विषयमा लेख्दै छु भन्ने, के विगतको लामो समय देखि महिलाको शरिरलाई बदलिँदो समाजको संरचनाले एउटा उपभोगको बस्तु सरह भोगेको, महिलाको शरिरलाई बजारमा विभिन्न नाममा बेचेर पुगेन र ? पुँजीबादको नाममा, आधुनिकताको नाममा सभ्य समाजको नाममा महिलाको शरिरलाई भोग्ने बस्तु सरह बजारमा बेचिरहँदा पनि पुगेन र ? हाँस्य व्यङग्यात्मक रुपमा राजनैतिक दलहरुलाई प्रस्तुत गर्नका लागि पनि महिलाको शरिर नै चाहिएको हो ? ओहो ।।।। तपाईहरुसँग नया विषयबस्तु माथि छलफल गर्ने आफ्नो कला देखाउने ठाँउ नै सकिएको हो र ? तपाईहरुसँग नया कन्टेन्ट नभएकै हो त ?
लौन त्यसो भए तपाईको घरमा भएका बालबच्चाहरुलाई एक पटक सामाजिक शिक्षामा गाई जात्राको बारेमा के लेखेको छ यसको महत्व तथा ईतिहासका बारेमा सोध्नुस न ल । सायद उनीहरुको मदतले आगामी समयमा गाई जात्रा विशेष कन्टेन्ट बनाउँदा तपाईहरुलाई मदत मिल्छ कि ?
जसरी तपाईहरुले सत्ता सावरको नाम दिनु भएको छ नि त्यो बाट यो स्पष्ट हुन्छ कि कुनै महिलाले बेबी सावर गरी आफ्नो मातृत्वलाई उत्सवको रुपमा मनाई रहँदा तपाई भित्रको पुरुषले सहन गर्न नसकी यस्ता अभिव्यक्ति बाहिर आएको देखिन्छ । महिलाको गर्भाअवस्थाको समय माथि आघात पुग्ने गरी सन्दर्भ सामग्रीहरु प्रस्तुत गरी छाप्दा सम्म एक गर्भवती महिलाको अवस्था माथि आफुसँग भएका सम्पुर्ण पित्तृसत्तात्मक हतियार प्रहार गरी महिलाको अस्तित्वको हत्या गरीरहेको महशुस भएन ?

पितृसत्तात्मक सोँचबाट ग्रसित पुरुष भएर हो या फेरी महिलाको शरिरलाई एउटा बच्चा जन्माउने भाँडोको रुपमा मात्र हेरिनुको कारण हो यसरी महिलाको गर्भाअवस्थाको मजाक बनाईनु कति सम्म न्यायोचित रहेको छ ? गाईजात्राको बारेमा रातोपाटिका साथीहरुको अधुरो ज्ञान र पुरुषबादि सोचको भरपुर ज्ञान देखिएको छ नि त्यसले त स्पष्ट नै देखाउने भयो कि तपाईहरुको मातृत्व तथा गर्भाअवस्थाका बारेमा ज्ञान कति रहेछ भनेर । सायद तपाईहरुलाई त पुँजीबाद समाजले महिलाको शरिरलाई बस्तु सरह बजारमा बेचिरहेको छ त्यो पनि सामान्य लाग्छ होला , बजारमा राखिएका ठुला ठुला होर्डिङबोर्डहरु जसमा विभिन्न किसिमका मदिरा, धुम्रपान तथा सुन्दरताको बस्तुहरुलाई महिलाको आर्कषक शरिरको प्रगोग गरी बेचिरहेका हुन्छन्, त्यसरी महिलाको शरिरलाई प्रयोग गर्ने बानी परेका पित्तृसत्तात्मक समाजले कुनै महिलाले गर्भाअवस्थालाई उत्सवको रुपमा मनाउँदा गाई जात्रा पर्खिनु परेको । ओहो।।।।। कति धेरै धैर्य गर्ने क्षमता यो पुरुष बादी समाजमा १ कति धेरै कुर्नु परेको रातो पाटिका साथीहरुलाई यो व्यंग्य गर्नका लागि ।

निकै नै लामो समय देखि महिला माथि भएका अन्याय, अत्याचार र महिलाका विभिन्न मुद्धाहरुलाई दबाउने काम त भई नै रहेको छ तर अहिले को आधुनिक र शिक्षित समाजमा महिलाको अस्तित्त्व माथि सार्वजनिक स्थल अथवा सार्वजनिक रुपमा नै प्रहार गर्ने र पछि त्यसको विरोधमा कसैको आवाज आयो भने दुई लाईनको माफि मागेर आफ्नो कुकर्म लाई छोप्न खोज्ने त हाम्रो मात्र शिक्षित र आधुनिक समाज होला सायद ।

तपाईको यो अभिव्यक्ति “ गाई जात्राका दिन सत्तापक्षका नेतालाई अर्धनग्न रुपमा प्रस्तुत गर्ने क्रममा प्रकाशित कार्टुनमा असावधानिवश लैंङ्गिक संवेदनशीलता र सम्मानलाई ख्याल गर्न नसकेकोमा हामी आत्मालोचित छौँ हामीलाई खबरदारी गर्नु हुने सबै प्रति आभार प्रकट गर्दै क्षमा याचना सहित कार्टुन हटाएका छौँ सम्पादक, रातोपाटी” यसरी महिलाको शरीरलाई बस्तुगत रुपमा प्रस्तुत गर्ने फेरी माफि माग्ने कहिले सम्म हो ?

सायद सम्पुर्ण महिलाहरुलाई यो मान्य छैन र मलाई पनि यस प्रति ठुलो आपत्ती रहेको छ । यसरी महिलाको शरिर माथि महिलाको अधिकार हुनुपर्छ र महिलाको गर्भाअवस्थाको मजाक बनाई सार्वजनिक स्थलमा प्रस्तुत गरी महिलाको अपमान गर्ने माथि सरकार, राज्य पक्षको गम्भिर ध्यानाकर्षण भई यसरी सार्वजनिक स्थल (सामाजिक संजाल, पत्र पत्रिका, अनलाईनमा ) हुने हिँसाहरुलाई सम्बोधन गरी कारवाही हुनुपर्छ । प्रिय सम्पादक ज्यू बाट आएका माफिका शब्दहरुले महिलाको अस्तित्व त्यो पनि गर्भाअवस्थाको समयमा गरिएको अपमानलाई सम्बोधन गर्न सक्दैन । प्रिय साथीहरु तपाईहरुलाई कन्टेन्ट चाहिन्छ भने अध्ययन गर्नुस र महिलाको अस्तित्वमा आँच आउने सामाग्री प्रस्तुत गरी पित्तृसत्तात्मक रोगलाई निरन्तरता दिने काम गरी यो रोगलाई पछिल्लो पुस्तामा नसार्नुहुन मेरो विनम्र आग्रह छ ।

(सुष्मा छिनाल महिला पुर्नस्थापना केन्द्र दाङमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु